Literature Movie News Gallery VisitNepal
काठमाडौं : आफ्नो जीवनकालमा जतिसक्दो छिटो लगानी गर्नु अति महत्वपूर्ण पक्ष हो । विशेषगरी युवाहरुले जतिसक्दो चाँडै लगानी गरेर सफल बन्न प्रयास गरिरहेका हुन्छ । यसैगरी, वयष्क तथा पेशाकर्मीहरुका लागि चाँडै अतिरिक्त आम्दानीका लागि कुनै क्षेत्रमा लगानी गर्नु निकै आवश्यक विषय हो । जस्तो सेयर बजारकै कुरा गरौं न, छिटो लगानी गरी दीर्घकालीन समयसम्म होल्ड गर्दा यसबाट कोहीले पनि उच्च प्रतिफल प्राप्त गर्न सक्दछ । केही वर्ष छिटो मात्र लगानी सुरु गर्न सके पनि लाखौं नभए पनि दसौं हजार रुपैयाँ अतिरिक्त प्रतिफल आफ्नो अवकाष कोषमा जम्मा गर्न सकिन्छ ।
तर, चाँडै लगानी गर्नु जति महत्वपूर्ण छ, बुद्धिमानीपूर्वक लगानी गर्नु त्यो भन्दा झन् महत्वपूर्ण विषय हो । सही ज्ञान भएन भने छिटो लगानी सुरु गर्नु पनि बालुवामा पानी खन्याए बराबर हुन जान्छ । यसो भए, सही लगानी गर्ने कसरी ? यसको उत्तर सामान्य छ : अध्ययन । उचित लगानीका लागि सफल लगानीकर्ताका पुस्तकहरु अध्ययन गर्न अति नै महत्वपूर्ण हुन्छ । तसर्थ, यसपटक हामी युवा लगानीकर्तालाई व्यावसायिक तथा वित्तीय मार्गनिर्देशन गर्न सिकाउने ५ उत्कृष्ट पुस्तकहरुको बारेमा सामान्य चर्चा गर्दैछौं ।
‘रिच ड्याड पोर ड्याड’ (१९९७०) : रोबर्ट कियोसाकी
युवा लगानीकताले पढ्नैपर्ने एक बहुचर्चित पुस्तक हो ‘रिच ड्याड पोर ड्याड’ । यस पुस्तकमा गरिब र मध्यमवर्गीयले पैसाका लागि मात्रै काम गर्ने तर धनीले सिक्नका लागि काम गर्ने धारणा लेखक रोबर्ट कियोसाकीले व्यक्त गरेका छन् । कर्पोरेट अमेरिकाको मुसा दौड त्याग्नका लागि वित्तीय साक्षारता र वित्तीय स्वायत्तताको महत्वलाई अन्तिम लक्ष्य बनाउनुपर्नेमा लेखकले जोड दिएका छन् । लेखा (एकाउन्टिङ) सिक्न महत्वपूर्ण भए पनि यो भ्रामक हुनसक्नेतर्फ पनि लेखकले इंगित गरेका छन् ।
उदाहरणका लागि बैंकले घरलाई व्यक्तिको सम्पत्तिको रुपमा मान्दछ । तर उक्त घरलाई टिकाई राख्न भुक्तानी आवश्यक भएकाले नगद प्रवाहका आधारमा यो दायित्वमा परिणत हुन जान्छ । तर वास्तविक सम्पत्तिले तपाईको वालेटमा नगद प्रवाह गर्नेछ । धेरैले घर बनाउँदा बैंकबाट ऋण लिएर बनाएका हुन्छन् भन्ने सन्दर्भमा यो विषयलाई केन्द्रित गरिएको हो । कियोसाकीले नगद प्रवाहका लागि उत्पादन गर्दै सम्पतिमा उच्च प्रतिफल प्रदान गर्ने लगानीको वकालत गरेका छन् ।
घरजग्गा लगानी र लाभांश प्रदान गर्ने सेयरलाई यस्तो लगानीको अनुकूल मानिएको छ । मानिसलाई जीवनभर कडा परिश्रम गराउन सिकाउने किसिमले अमेरिकी शिक्षा प्रणाली विकास गरिएको छ भन्ने उनको भनाई छ । विद्यालयले प्रशस्त सम्पति कमाई भविष्यमा दुःखको काम गर्न आवश्यक नपर्ने किसिमले शिक्षा दिन नसकेको उनको धारणा छ । कियोसाकीले कर योजनाको महत्वलाई पनि आफ्नो पुस्तकमा दर्शाएका छन् । आम लगानीकर्ताले यस पुस्तकबाट लगानी तथा सम्पति जोड्ने विषयमा धेरै कुराहरु सिक्ने अपेक्षा गर्न सकिन्छ ।
‘द एसे अफ वारेन बफेट : लेसन फर कर्पोरेट अमेरिका ९१९९७०’, वारेन बफेट
आधुनिक इतिहासको सर्वाधिक सफल लगानीकर्ताका रुपमा चिनिएका बफेटले आफ्ना निबन्धहरुमा कर्पोरेट अमेरिका र सेयरहोल्डरहरुसँग सम्बन्धित विविध विषयहरुमा आफ्नो धारणा राखेका छन् । यस पुस्तकबाट युवा लगानीकर्ताले कम्पनीको व्यवस्थापन र यसका सेयरहोल्डरहरु बीचको सम्बन्धको झलक प्राप्त गर्न सक्दछन् । साथै, कम्पनीको व्यावसायिक मूल्य र महत्वलाई बढाउन चाहिने विचार प्रक्रियालाई पनि समावेश गरेका छन् । पुस्तकमा बफेटले कर्पोरेट गभर्नेन्स, वित्त, लगानी, साधारण सेयरका विकल्प, मर्जर तथा एक्विजिसनका बारेमा चर्चा गरेका छन् ।
यसैगरी, लेखा तथा मूल्यांकन, लेखा नीति र करका विषयहरु पनि समावेश गरेका छन् । बफेटले यसमा आफ्नो व्यावसायको आधारभूत सिद्धान्तहरुलाई प्रस्तुत गरेका छन् । बर्कशायर हाथवेको प्रबन्धकका हैसियतले आफ्ना सेयरधनीहरुलाई आपसी स्वार्थ जोडिने विषयमा पनि जानकारी गराएका छन् ।
उनले दक्ष व्यवस्थापकलाई पोर्टफोलियो कम्पनीहरुमा ल्याउने र उनीहरुलाई काम गर्न स्वतन्त्र छाडिदिने गरेका छन् । वास्तविक मूल्य भन्दा कम भाउ भएको बेलामा सेयर खरिद गर्नुपर्छ । तर सधैं अल्पकालीन ट्रेन्डको पछि लाग्न नहुनेमा बफेटले वकालत गरेका छन् । भ्यालू इन्भेष्टिङमा उनले जोड दिएका हुन् । दीर्घकालीन लगानीका बारेमा पनि उनले वकालत गरेका छन् ।
‘बिटिङ द स्ट्रिट’ ९१९९३० : पिटर लिन्च
पिटर लिन्च अघिल्लो शताब्दीका एक सर्वाधिक सफल लगानीकर्ता हु । हेज फन्ड पनि व्यवस्थापक हुन् । सन् १९६० को मध्यतिर फिडेलिटी इन्भेस्टमेन्ट्समा प्रशिक्षार्थीका रुपमा उनले काम सुरु गरेका थिए । यसको ११ वर्षपछि झण्डै १ करोड ८० लाख डलर सम्पति भएको मेगालान फन्डको व्यवस्थापनको समेत उनले जिम्मेवारी पाए । सन् १९९० सम्म आइपुग्दा मेगालान फन्डको सम्पति बढेर झण्डै १४ अर्ब डलर पुगेको थियो । हाल उक्त फन्डले वार्षिक औसत २९.२ प्रतिशतका दरले प्रतिफल दिइरहेको छ ।
‘बिटिङ द स्ट्रिट’ ले लिन्चको दिमाग नियाल्न र सेयर किनबेचका लागि सही समयको निर्णय गर्न पाठकलाई अवसर दिएको छ । बजारबाट व्यक्तिगत लगानीकर्ताले वाल स्ट्रिटको भन्दा बढी लाभ उठाउन सक्ने विश्वास राख्दै आफूले जानेको क्षेत्रमा लगानी गर्नका लागि प्रोत्साहित गरेका छन् । यस पुस्तकले पनि उचित लगानी विधिलाई नै मार्गदर्शन गरेको बुझ्न सकिन्छ ।
‘द इन्टेलिजेन्ट इन्भेस्टर्स’ (१९४९) : बेन्जामिन ग्राहम
यो पुस्तक १९४९ मा प्रकाशन भएको हो । यो लगानीकर्ताले अत्याधिक रुचाएका पुस्तकमा पर्छ । विख्यात लगानीकर्ता वारेन बफेटले यसलाई हालसम्म लेखिएको मध्ये सम्भवतः सबैभन्दा उत्कृष्ट लगानी पुस्तक मानेका छन् । बेन्जामिन ग्राहमलाई भ्यालू इन्भेस्टिङका पिता मानिंदै आएको छ । जस अनुसार आफ्नो वास्तविक मूल्य भन्दा कम दाममा कारोबार भइरहेका सेयरहरु आधारभूत विश्लेषणको माध्यमबाट पहिचान गरी खरिद गर्नुपर्दछ भन्नेमा उनको जोड रहँदै आएको छ ।
ग्राहमले आफ्नो पुस्तकमार्फत सेयर बजार इतिहासको जानकारी गराउँदै पाठकलाई आधारभूत विश्लेषण गर्न सुझाव दिएका छन् । सकारात्मक र रक्षात्मक दुवै विधिबाट आफ्नो पोर्टफोलियो व्यवस्थापन गर्ने विभिन्न तरिकाको बारेमा पनि उनले पुस्तकमा छलफल गरेका छन् । संक्षेपमा भन्नुपर्दा, उचित समयमा उपयुक्त हिसाबले लगानी गर्न यस पुस्तकले सिकाएको छ ।
‘थिंक एन्ड ग्रो रिच’ (१९३७) : नेपोलियन हिल
‘थिंक एन्ड ग्रो रिच’ महामन्दीको समयमा लेखिएको पुस्तक हो । यो पुस्तक हालसम्म विश्वभर १० करोडप्रति भन्दा बढी बिक्री भइसकेको छ । हिलले आफ्नो जीवनकालमा धनी व्यक्तिहरुसँगको सहकार्यमा आधारित भएर बृहत् अनुसन्धान गरेका छन् । आन्द्रे कार्निजको सुझावमा हिलले आफ्नो अवलोकन, अनुसन्धानका आधारमा प्राप्त निष्कर्षहरु प्रस्तुत गरेका छन् । उनले सफल र व्यक्तिगत उपलब्धिका लागि १३ सिद्धान्त प्रकाशित गरेका छन् ।
यसमा इच्छा, आस्था, विशिष्टीकृत ज्ञान, संगठित योजना, दृढता र छैटौं ज्ञानेन्द्रियलाई समावेश गरिएको छ । हिल उस्तै विचार भएका मानिसहरुसँग मिलेर काम गर्ने कुरामा विश्वास गर्छन् । नकारात्मक समाचार र मनोरञ्जन सामाग्रीले मात्र प्रथमिकता पाइरहेको वर्तमान समयमा सफलताको मनोविज्ञानका लागि मूल्यवान अन्तरदृष्टि प्राप्त गर्न यो पुस्तक पढ्नैपर्ने मध्ये एक रहेको छ ।
एजेन्सी